एम्बास्डर्स क्लब र आईआरजीडीडी उद्घाटन, ‘द डिप्लोम्याट नेपाल म्यागजिन’ सार्वजनिक
काठमाडौँ — कुटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्त्वपूर्ण भूमिका खेल्नको लागि नेपालमा आइतबारदेखि एम्बास्डर्स क्लब र इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को सुरुवात भएको छ ।
सोही अवसरमा नेपालको पहिलो कूटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लब र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालको एक महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।
उनले भने,‘वैश्विक व्यवस्था तीव्र रूपमा परिवर्तन हुँदैछ । र, नेपाल अब किनारामा बस्न सक्दैन । शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकूल र आवश्यक कदम हो ।’
डा. भट्टराईले तीन संस्थाहरुले नेपालले यस्तो सफ्ट पावर उपलब्ध गराउने बताए ।
उनले विकास निर्माण र दूरदर्शिता तथा समावेशी सोचमा आधारित परराष्ट्र नीति निर्माण हुने उल्लेख गरे । उनले भने, ‘यी प्लेटफर्महरूले श्रमिक अधिकार, जलवायु परिवर्तन, महिला र युवाको सशक्तिकरणजस्ता गम्भीर मुद्दाहरूमा आवाज उठाउँछन् । केवल प्रतिक्रिया होइन, नेपालको भविष्य निर्माणमा सक्रिय सहभागिता जनाउँछन् ।’
कार्यक्रममा अम्बासडर्स क्लब र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले महत्त्वपूर्ण संस्थाहरुको उद्घाटन केवल सुरुवात मात्र नभई यात्राको थालनी भएको बताइन् । ‘यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्याउने यात्रा हो । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुञ्जिनेछ । साना राष्ट्रहरू उभिनुपर्छ । द्वन्द्वमा होइन, दृढतामा । हामी स्पष्ट भाषामा बोल्नुपर्छ, सहानुभूतिसाथ संवाद गर्नुपर्छ र साहसका साथ अघि बढ्नुपर्छ । विश्व परिवर्तनको सामना गर्दै हामीले त्यसमा आफ्नो भूमिका खेल्नुपर्छ, केवल प्रतिक्रिया होइन ।’
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले गर्ने प्रत्येक निर्णयले केवल नीति मात्र नभई, हाम्रो पहिचान, इतिहास र अस्तित्वसँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नुपर्ने बताए । यसैगरी, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आईआरजीडीडी र एम्बास्डर्स क्लबलाई ‘समय सापेक्ष र रूपान्तरणकारी’ प्लेटफर्मको रूपमा व्याख्या गर्दै भनिन्, `विश्व आपसमा जटिल संकट र जलवायु संवेदनशीलतासग जुझिरहेको अवस्थामा यस्ता पहलहरू नेपालका लागि महत्त्वपूर्ण छन् । केवल चुनौती सामना गर्न होइन, अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको भूमिका सशक्त बनाउन पनि ।’
रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले भने, ‘यी पहलहरूले नेपाल र विश्वमा भइरहेको जटिल कूटनीतिक अभ्यास सुधार्न मद्दत गर्नेछन् । अहिलेको समयमा जलवायु संकट, एआई र आप्रवासनका चुनौतीसँग जुझिरहँदा परम्परागत अभ्यासलाई नया अभ्यासले प्रतिस्थापन गर्नुपर्छ । यी पहलहरूले नया विचारहरू ल्याउन र प्रवद्र्धन गर्न प्रमुख भूमिका खेल्नेछन् ।’
डिप्लोम्याटिक कोप्र्सकी डीन तथा नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमदले आयोजक समिति तर्फबाट धन्यवाद ज्ञापन दिँदै भनिन्, ‘आईआरजीडीडी, एम्बास्डर्स क्लबले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने एक महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्छ, जसले कूटनीतिज्ञहरूलाई अनुभव र ज्ञान साट्न सहयोग पुर्याउँछ । साथै, द्विपक्षीय र बहुपक्षीय कूटनीति प्रवर्द्धनमा पनि सहायक हुनेछ ।’
