आज नरिवल जात्रा

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Coconut festival today

काठमाडौँ — वर्षा र सहकालको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथको टुप्पोबाट शुक्रबार साँझ नरिवलका साथै योमरी र ल्होंचामरी (नेवारहरूले धान्यपूर्णिमा पकाउने एक प्रकारका रोटी) ले अभिषेक गराइँदैछ।

भूज्या जात्राको अवसरमा खसालिने नरिवल टिप्न तँछाडमछाड हुने गर्छ। नरिवल प्राप्त गर्ने व्यक्तिलाई मत्स्येन्द्रनाथजस्तै ३२ लक्षणयुक्त पुत्र लाभ हुने जनविश्वास छ।

नरिवल खसालिएको भोलिपल्ट ‘क्याक: मिसाया: भूज्या:’ भनी महिलाहरूले मात्र रथ तानेर जात्रा गर्ने परम्परा छ। महिलाहरूले शनिबार बिहान सबेरै रथ तानेर थटी टोलबाट अलिपर चारदोबाटो पुर्‍याइन्छ।

रथ थटी टोल चारदोबाटोबाट जावलाखेलतर्फ तान्न साइत हेर्न गुठी संस्थानबाट ज्योतिषीलाई पत्र काटिन्छ। यसबीच मत्स्येन्द्रनाथको देवाली पर्व हुन्छ। देवाली पर्वमा मंगलबजारस्थित मणिमण्डप पाटीको चार दिशाका चार थाममा चार जोशी बसेर साइत हेरिन्छ। साइत नजुरेसम्म रथलाई थटी टोलको चारदोबाटोमै राखिन्छ। साइत जुरेको दिन रथ तानेर जावलाखेल पुर्‍याइन्छ र त्यसको चार दिनपछि भोटो जात्रा गरिन्छ।

कान्तिपुर

Link copied successfully