काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोट विदुर नगरपालिका–१३ का जसमान तामाङ, काठमाडौं महानगरपलिका–९ बस्ने सोही नगरपालिका–१६ का भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका–५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका–४ का मिन बहादुर थापालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये जसमानले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितबाट ५ लाख २० हजार रूपैयाँ, भुपाल र मिनबहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए ।
उनीहरुलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
