काठमाडौँ — नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद थापाले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्धका चलखेलहरू जारी रहेको बताए ।
उनले ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन’ जस्ता अभिव्यक्तिहरू आउने क्रम जारी रहेको र ती झुटा र बकवासहरू निरर्थक सावित भएको दाबीसमेत गरे ।
उनले माओवादी अध्यक्ष दाहाललाई लक्षित गर्दै कति वटा जिब्रा भएका र झुटो बोल्नसक्ने काबिल नेता मानेर नेपालीहरूले सुनिरहनुपर्ने हो भन्दै प्रश्नसमेत गरे ।
उनले भने, ‘दिनहुँ सरकारविरुद्धका चलखेल जारी छन् । आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदुषण हुने क्रम जारी छ । तर सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र झुटो बकवासहरू निरर्थक साबित भएका छन् । त्यस्ता बोल्ने नेतृत्वलाई कति वटा जिब्रो भएका र अहोरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर कहिले सम्म सुनिरहनुपर्ने हो, हामी नेपालीहरूले ।’
उनले दाहाल नेतृत्वको पछिल्लो २० महिनाको शासन देखिएको भन्दै त्यति बेलामा पाकिस्तानी मोडलको अभ्यास र भ्रष्टाचारका फाइल खोल्ने हुङ्कारको हविगत देखिएको टिप्पणी गरे ।
