काठमाडौँ — बेलायतका राजा चार्ल्स तृतीयको जन्मदिन मनाइएको छ । काठमाडौंस्थित बेलायती राजदूतावासमा नेपालका लागि बेलायती राजदूत रब फेन र जुलिया फेनले जन्मदिनको कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थिति रहेको थियो । बेलायती राजकुमार र राजकुमारीको हालै भ्रमणपछि आयोजित यो कार्यक्रमले नेपाल र बेलायतबीचको अद्वितीय सम्बन्धलाई थप प्रगाढ बनाएको दूतावासले जनाएको छ ।
राजदूत रब फेनले नेपाल र नेपालीले देखाएको लामो मित्रताको प्रशंसा गर्दै यो सम्बन्धलाई निरन्तर अगाडि बढाउँदै लैजाने विश्वास गरे ।
कार्यक्रममा नेपालका वरिष्ठ सरकारी अधिकारीहरू, शिक्षाविद्हरू, चिभिनिङ्ग अन्तर्गत बेलायतमा अध्ययन गरेका पूर्व विद्यार्थी, विकास साझेदार, कूटनीतिक समुदाय र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै राजदूत फेनले भने, ‘नेपालको प्रगतिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ । लण्डनमा वित्तदाताहरूले नेपाललाई लगानीको लागि एक आकर्षक गन्तव्यको रूपमा कुरा गर्न थालेका छन् । उनीहरूसँग नेपालप्रति भावनात्मक लगाव छ, जुन हालै सम्पन्न अधिराजकुमार-अधिराजकुमारीको शानदार भ्रमणबाटले पनि ताजा गराएको छ ।’
