काठमाडौँ — विश्वका क्लबमध्ये उत्कृष्ट ४४औं स्थानमा परेको ठमेलस्थित एलओडी क्लबले सोमबार उत्सव मनाएको छ ।
सो अवसरमा क्लबका निर्देशक भुपेन कुँवरले अन्तर्राष्ट्रिय बजारमा एलओडी चिनाउन बढीभन्दा बढी मार्केटिङमा ध्यान दिने बताए । 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर ठूलाठूला कार्यक्रम गर्ने योजना त छँदै छ । ग्राहक तथा पाहुनालाई स्वागत गर्ने तरिकालाई थप प्रभावकारी बनाउनेछौं,' उनले भने ।
विश्वकै ४४ औं स्थानमा आफ्नो क्लब परेको खुसी साट्दै गर्दा उनी कोही किन ठमेल आउँछ भन्ने सुनाइरहेका थिए । 'एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसक्यो,' उनले भने, 'हाम्रा पाहुनालाई संगीतको आनन्द र विभिन्न मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौं ।’
उनका अनुसार क्लबमा एक सय ५० भन्दा बढी कर्मचारी छन् । रात्रिकालीन व्यवसायका धेरै चुनौती रहेको सुनाउँदै उनले क्लबप्रति मुलुकमा सकारात्मक धारणा बन्न नसकेको गुनासो गरे ।
यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागिता थियो । म्यागले हरेक वर्ष विभिन्न मुलुकका उत्कृष्ट क्लब छनोट गर्छ ।
