महानगर प्रहरीको ज्यादती : कानुनविपरीत लाठीचार्ज र कुटपिट

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन् : कानुनमा नगर प्रहरीलाई लाठीचार्ज गर्ने वा कुटपिट गर्ने अधिकार छैन । तर प्रतिरक्षामा त्यस्तो गर्न सक्छन्

वैशाख ५, २०८२

प्रशान्त माली

Metropolitan police excesses: Lathicharge and beating against the law

काठमाडौँ — काठमाडौं महानगरपालिकाले बिहीबार च्यासलस्थित कवाडी संकलन केन्द्रमा डोजर चलायो। स्थानीयको अनुरोधमा कवाडी संकलन केन्द्र हटाउनेक्रममा दुई जना मजदुरले विरोधस्वरूप ढुंगामुढा गरे। ढुंगाले डोजरको सिसा फुट्यो। नगर प्रहरीले लाठी चार्ज गरे । एक जनाको टाउकोमा चोट लाग्यो । अर्का एक जना घाइते बने ।

केही दिनअघि नगर प्रहरीले सडकमा अर्का एक जना कवाडी संकलकलाई लछारपछार गरेको थियो।

प्रहरीले लछारपछार गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ। धेरै पटक सडक व्यापारीमाथि नगर प्रहरीले बुट बर्साएका घटना देखिएका छन् । तर नगर प्रहरीलाई यसरी बुट बर्साउने र लाठी प्रहार गर्ने अधिकार नै हुन्छ कि हुँदैन त ? के नगर प्रहरीले यस्तो अमानवीय व्यवहार गर्न मिल्छ ? प्रश्न उब्जिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकेको छ । ऐनको परिच्छेद ३ मा नगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन, सम्पत्तिको संरक्षण, चाडपर्वको सुरक्षा व्यवस्थापन जस्ता काममा नगर प्रहरी परिचलन गर्न सक्ने व्यवस्था गरेको छ । ऐनले नगर प्रहरीलाई धरपकड, लाठीचार्ज, लछारपछार, कुटपिट गर्ने त्यस्तो अधिकार दिएको छैन । 

महानगर प्रहरी ऐन २०८० को दफा ७ को १३ नम्बर बुँदामा पनि महानगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकिएको छ । उक्त दफामा उल्लेखित १३ नम्बर बुँदामध्ये कुनैले पनि कसैलाई नियन्त्रणमा लिने, लाठीचार्ज, धरपकड गर्ने अधिकार नगर प्रहरीलाई दिएको छैन । नगर प्रहरीले त्यस्तो आवश्यक परेमा नेपाल प्रहरीको सहयोग माग्न सक्छ ।

संविधानले हातहतियार राख्ने, लाठीचार्ज गर्ने, धरपकड गर्ने जस्ता व्यवस्था गरेर कानुन बनाउने अधिकारसमेत स्थानीय तहलाई  दिएको छैन। शान्ति सुरक्षाको व्यवस्था संघ र प्रदेश सरकारले गर्ने हो । तर महानगर प्रहरीले फोहोर व्यवस्थापनका नाममा सडकमा खुलेआम लाठी बर्साउने र लछारपछार गर्ने गरेका छन्।

यस्तो कार्य कानुनविपरीत र मानवताको नजरबाट समेत गरिखान पाउनुपर्ने भन्दै सरोकारवालाले समेत विरोध जनाउँदै आएका छन् ।महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने नगर प्रहरीले आफ्नो प्रतिरक्षा र अरुलाई सुरक्षा प्रदान गर्न सक्ने बताउँछन्। तर कानुनले भने त्यस्तो अधिकार नदिएको उनको भनाइ छ।

उनी भन्छन्, ‘च्यासलको घटना के भएको हो, त्यो बुझ्नुपर्छ । नगर प्रहरीमाथि प्रहार भएको भन्ने पनि सुन्नमा आएको छ ।’ उनले कानुनमा नगर प्रहरीले लाठीचार्ज गर्ने वा कुटपिट गर्ने अधिकार नरहेको बताए।

‘सडक व्यापारीहरूलाई व्यापार गर्न बालाजु, असन, कोटेश्वरलगायत निश्चित ठाउँ तोकिएको छ,’ उनले भने, ‘तिनीहरुले अटेर गरेर व्यापार गर्नु भएन ।’ 

प्रशान्त माली

Link copied successfully