काठमाडौँ — यसअघि पटक–पटक सूचना दिँदासमेत अटेरी गरेपछि काठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ। काठमाडौँ महानगरपालिका–३२ मा पर्ने ती केन्द्रहरू हटाउनका लागि छवटा टोल सुधार समिति तथा स्थानीय बासिन्दाले उजुरी गरेपछि आज डोजर लगाइएको हो।
महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेका तीनवटा कवाडी सङ्कलन केन्द्रहरू हटाइएको हो। ‘आवासीय क्षेत्रमा पर्ने ती केन्द्रहरू हटाउनका लागि पटक–पटक आग्रह गरिँदा अटेरी गरेपछि आज डोजर चलाइएको हो,’ उनले भने।
उक्त स्थानमा डोजर लगाएर हटाउने क्रममा दुई मजदुरले विरोधस्वरूप ढुङ्गामुढा गरेका थिए। ढुङ्गाले डोजरको सिसा फुटेको र ढुङ्गामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिएको उपरीक्षक अर्यालले जानकारी दिए।
स्थानीयवासीले बालबालिकाको पठनपाठनमा असर परेको, सामाजिक असुरक्षा सिर्जना भएको लगायतका गुनासो गर्दै ती सङ्कलन केन्द्र हटाउन माग गर्दै आएका थिए।
