युरोपियन युनियनको निमन्त्रणामा उपप्रमुख डंगोल बेल्जियम प्रस्थान

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

At the invitation of the European Union, Deputy Chief Dangol leaves for Belgium

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आइतबार बेल्जियन प्रस्थान गरेकी छन् ।

बेल्जियममा हुने युनियनको बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने डंगोलको कार्यक्रम रहेको महानगरले जनाएको छ ।

युनियनका दक्षिण एसियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहसँग उपप्रमुख डंगोलले अन्तर्राष्ट्रिय सहयोग, समन्वय तथा साझेदारीका अभ्यास सम्बन्धित विषयमा बैठक गर्नेछिन् । यसैगरी संसद् सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यसँग छलफल हुनेछ । लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन–एडीआर) को अभ्यास अवलोकन गर्ने समेत उप–प्रमुखको कार्य तालिका छ ।

स्थानीय तह (स्थानीय सरकार) का प्रतिनिधिहरूसँग सहरी विकास वितरण र व्यवस्थापन तथा स्थानीय शासन व्यवस्थापन तथा प्रवर्धनमा तहगत दायित्वका विषयमा कुराकानी हुनेछ । यस क्रममा डंगोलले काठमाडौं महानगरका सम्भावना र असल अभ्यासका विषयमा जानकारी गराउने कार्यक्रम रहेको महानगरले जानकारी दिएको छ ।  

कान्तिपुर

Link copied successfully