काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना ४ महिना बितिसक्दा पनि बुझाएको छैन ।
२०८१ मंसिर ७ मा एमालेले दरबारमार्गमा जागरणभसा आयोजना गर्ने क्रममा सार्वजनिक स्थानमा फोहोर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । तर एमालेले अहिलेसम्म नतिरेको महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
‘हामीले एमालेले पत्र बुझ्न नमानेपछि त्यही समयमा इमेल र हुलाकमार्फ आधिकारिक पार्टीमा जरिवाना तिर्न भनी पत्र उपलब्ध गराएको हो,’ उनले भने, ‘अब आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ असुलउपर गर्ने निकायमा पत्राचार गर्ने तयारीमा छौं । त्यो महत्वपूर्ण निकाय हो । यसलाई असुलउपर गर्ने अधिकार हुन्छ । उसले भनेको मानेन भने निर्वाचन आयोग अथवा अरु निकायले गर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट परिसर, तिलगंगा, गौशालालगायत क्षेत्रमा फोहोर गरिएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गराएको थियो । लगत्तै राप्रपाले फागुन २६ मा उक्त जरिवाना तिरेको थियो ।
यसैगरी, महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई पनि गत चैत १५ गते तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा फोहोर तथा सार्वजनिक सम्पत्तिमाथि नोक्सानी भएको भन्दै महानगरले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । तर निर्मल निवासले पत्र बुझ्न नमानेपछि महानगरले चैत १७ गते हुलाकमार्फत पत्र पठाएको थियो ।
निर्मल निवासले पनि अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको महानगर प्रमुखका सचिव शाहले बताए ।
