निर्मल निवासले जरिवाना पत्र बुझ्न नमानेपछि महानगरले हुलाकमार्फत पत्र पठायो

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

After Nirmal Niwas refused to accept the penalty letter, the metropolis sent a letter through post

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना काटेको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले हुलाकमार्फत पठाएको छ । आइतबार पत्र बुझाउन गएको महानगर प्रहरी बलको टोलीलाई शाह बस्ने निर्मल निवासको गेटबाटै फर्काइएपछि महानगरले सोही दिन नै हुलाकमार्फत पत्र पठाइएको हो ।

निर्मल निवासले पत्र बुझ्न नमाने पनि उक्त जरिवाना भने सरकारी बाँकी असुलउपरमा रहने महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

‘संघ, प्रदेश र स्थानीय तहमा कर, शुल्क, दस्तुर र जरिवाना गरी तिर्ने र बुझाउने कानुनी व्यवस्था हुन्छ । त्यो अधिकारप्राप्त कार्यालयले यी कुरा संकलन गर्न पाउँछ,’ उनले भने, ‘तिर्नुपर्छ भनेर निर्धारण गरेको रकम चित्त बुझेन भने तिर्ने पक्षले यो कारणले पर्दैन अथवा यी कारणले गर्दा घटी वा बढी हो भन्ने दाबी पेस गर्ने मौका पनि हुन्छ ।’ तर निर्मल निवासबाट अहिलेसम्म कुनै दाबी पनि पेस नभएको, दाबी पेस नभएको खण्डमा तिर्ने पक्षले स्विकारेको ठहर्ने र यो तिर्नैपर्ने उनले बताए ।

‘यदि त्यो तिरेनन् भने सरकारी बाँकी सरह असुलउपर गर्नलाई आर्थिक उत्तरदायित्व ऐन २०७४ मा,’ उनले भने, ‘अभिलेखिकृत गरेर कार्यालयले निर्णय गरेर सरकारी बाँकी सरह असुलउपर गरिदिनुपर्‍यो भनेपछि त्यो सरकारी रकम तिर्न बाँकीमा जम्मा भएर बस्छ र तिर्नैपर्छ ।’ महानगरले सूचना पठाएको ३५ दिनभित्र जरिवाना तिर्नुपर्ने र पत्र नबुझेर पन्छिन नपाइने उनको भनाइ छ ।

महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत शुक्रबार काठमाडौंको तीनकुनेमा चैत १५ गते आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराएको थियो ।

कान्तिपुर

Link copied successfully