काठमाडौँ — कोरिया टुर्स एन्ड ट्रेनिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) स्थापनाको ७औं वार्षिक उत्सव कोटान नाइट कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार होटल मर्क्योर काठमाडौंमा कोटानका पदाधिकारी तथा कोरियाली दूतावास, कोइका, ईपिएस, नेपाल पर्यटन बोर्ड होटल एसोसिएसन, विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारी लगायतका व्यक्तिहरुको उपस्थितिमा सातौं वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अमरबहादुर शाहीले मन्तव्यका क्रममा संस्थाको मुख्य उद्देश्य कोरियन पर्यटकहरुलाई ट्रेकिङमा जाँदा सुरक्षित हिसाबले पदयात्रा गराउनका साथै आउँदा दिनमा कोरियन पर्यटकको संख्या वृद्धि गर्ने रहेको बताए । त्यसैगरी संस्था स्थापनाकाल देखि नै कोरियाली दूतावाससँगको सहकार्यप्रति हार्दिक आभार प्रकट गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोरियाली राजदूत पार्क थेयङले कोरियाली पर्यटक नेपाल भित्र्याउनका लागि कोटानले खेलिरहेको महत्त्वपूर्ण भूमिकाप्रति आभार प्रकट गर्दै नेपालमा कोरियाली पर्यटन प्रवर्धन गर्न दूतावास प्रतिबद्ध रहेको बताए ।
राजदूत पार्कले नेपालमा पर्यटन व्यवसाय देशको प्रमुख आयआर्जनको स्रोत भएको उल्लेख गर्दै पर्यटकको सुरक्षालाई ध्यान दिंदै विज्ञापन गर्न सकेमा हरेक हप्ता ५० लाख कोरियालीहरु कोरियाका पहाडहरुमा ट्रेकिङमा रमाउने गरेको प्रसंग उठाउँदै उक्त संख्याको २ प्रतिशत मात्र नेपाल भ्रमण गर्दा एक लाख कोरियाली पर्यटक नेपाल भ्रमण गर्न सक्ने सम्भावनको बारेमा चित्रण गरे ।
