काठमाडौँ — काठमाडौं महानगरपालिकाले महानगरभित्र चैत १५ गते मनाइने जात्रा पाहाँचर्हे सञ्चालन मार्गमा राजनीतिक कार्यक्रमबाट अवरोध नगर्न राजनीतिक दललाई आग्रह गरेको छ । साथै महानगरले उक्त दिन वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालन गर्न सवारी चालकलाई समेत अनुरोध गरेको छ ।
महानगरले उक्त जात्रा यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छाय, सुन्तागल्लि, मुगल्लि, काकेश्वरी मन्दिर लगायतका स्थानहरूमा सञ्चालन हुने भएकोले शुक्रबार यी स्थानमा जात्रालाई अवरोध पुर्याउने कुनै पनि सभा, सम्मेलन वा अन्य कार्यक्रम नगर्नु र नगराउन अनुरोध गरेको हो ।
‘साथै, जात्राको रूटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकहरुले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गरिदिनुहुन समेत अनुरोध छ,’ महानगरले सम्प्रेषण गरेको सूचनामा भनिएको छ ।
