काठमाडौँ — नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा नवौं भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा 'नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको स्रोत' भन्दै महोत्सव सञ्चालन हुने औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ ।
महोत्सव वैशाख ७ सम्म चल्नेछ । नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा ११ दिनसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष सन्दिप महतले बताए । ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री हुनेछन् । औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटो मोबाइल प्रदर्शनी, आधुनिक कृषि औजार प्रदर्शनी तथा बिक्री हुनेछ ।
महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानीय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गरिनेछ । मेलामा बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने महोत्सवमा १ सय ५० स्टल रहनेछ ।
पर्यटकीय गतिविधि, स्थानीय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ । राष्ट्रियस्तरका कलाकारहरुको हाँस्य व्यंङ्ग्य तथा फेशन र्याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ । उनका अनुसार करिब पाँच लाखभन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न ५० रुपैयाँ र ८० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । विद्यार्थीलाई ५० प्रतिशत र ज्येष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।
