काठमाडौँ — अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै चीन लगिँदै छ भन्ने सूचनाका आधारमा गत सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २५ करोड भन्दा अवैध विदेशी मुद्रासहित ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
विदेशी विनिमय (नियमित गर्ने) ऐनले मुद्राबारे सूचना दिएमा इनाम दिने व्यवस्था पनि गरेको छ । ऐन अनुसार खबर दिने व्यक्तिले बरामद भइ आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा हुन आएको बिगोको सय कडा बीस प्रतिशत पाउने व्यवस्था छ । सो अनुसार यस अवैध कारोबारको सूचना दिने व्यक्तिले ५ करोड ३ लाख ८४ हजार ९ सय ९० रुपौयाँ प्राप्त गर्नेछन् ।
ऐनले विदेशी विदेशी विनिमय सम्बन्धी अपराध गरेको कुराको सुराक कुनै व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारबाट आधिकारिक प्राप्त अधिकारी समक्ष दिई त्यसरी दिएको सुराकको आधारमा विदेशी विनिमय पक्राउ भई अपराध प्रमाणित हुन आएमा त्यसरी पक्राउ भइ आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको विगोको सयकडा बीस प्रतिशत त्यस्तो सुराक दिने व्यक्तिलाई इनाम दिइनेछ भनेर उल्लेख छ ।
कपडा किन्न भन्दै चीन हिँडेको ट्रकको चालक बस्ने क्याबिनको माथिल्लो भागमा फल्सबटम बनाएर लुकाएको नेपाली २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरोसहित चालक कुसाङ लामा अघिल्लो सोमबार पक्राउ परेका थिए । बरामद पैसा, ट्रक र चालक ‘फुच्चे’ भनिने कुसाङ लामालाई राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामाले पैसाको स्रोत नबताएपछि उनको मोबाइल फोनका आधारमा अनुसन्धान गर्दैछ । राजस्व अनुसन्धान विभाग कुसाङको मोबाइलमा रहेका फोन र म्यासेज जााँचेर अवैध मुद्राको रहस्य पत्ता लगाउँदै छ । उनीसँगबाट प्रहरीले दुई थान आइफोन बरामद गरेको थियो ।
उक्त रकमबारे विस्तृत खुलासा नभए पनि सुन ल्याउन चिनियाँ नाकातर्फ पैसा लगिँदै गरेको विश्लेषण प्रहरीको छ । कुसाङ यसअघि पनि अवैध सुन तस्करीको मुद्दामा पाँच वर्ष जेल बसेका थिए । २०७३ पुस १३ मा बा ८ च ७४२० नं.को जीपको एयर फिल्टरभित्र ७ केजी सुनसहित उनी पक्राउ परेका उनले तोकेको जरिवाना तिर्न नसेपछि उनी पाँच वर्ष जेल बस्नु परेको थियो । त्यो समयमा पनि उनीबाट सुनको स्रोत र व्यक्तिका बारेमा केही पनि जानकारी प्राप्त भएको थिएन ।
