ग्रामीण आदर्श क्याम्पसमा नेविसंघको रिले अनसन 

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Relay hunger strike of the Union at Gramin Adarsh ​​Campus

काठमाडौँ — काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रिले अनसन सुरु गरेको छ । 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुनिश्चितताको माग गर्दै आजबाट नेविसंघले रिले अनसन सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकिएकोमा सबै तयारी पूरा हुँदा समेत विभिन्न बहानामा निर्वाचन रोकिएको उनीहरूको आरोप छ।

नेविसंघले निर्वाचन जित्ने भएसँगै विभिन्न बहानामा निर्वाचन रोकिएको र त्यसको सुनिश्चितताको माग गर्दै रिले अनसन सुरु गरिएको नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष महेशमणी पौडेलले जानकारी दिए । उनका अनुसार आज नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले रिले अनसनमा बसेका छन् । 

‘कलेजमा हाम्रो संगठनले जित्ने देखिएपछि विभिन्न बहानामा निर्वाचन नगराउने प्रपञ्च रचिएको छ । हामी विद्यार्थीको हक अधिकार सुनिश्चितताका लागि निर्वाचन चाहान्छौँ,’ उनले भने । स्ववियु निर्वाचन सुनिश्चित गर्न, कार्यतालिका सार्वजनिक गर्नेसहित स्ववियु निर्वाचन निर्देशिका कार्यान्वयन गर्दै विद्यार्थीको मताधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ। 

यी मागहरु पूरागरि छिटोभन्दा छिटो स्ववियु निर्वाचन सुनिश्चित नभएमा आफूहरु आमरण अनसन बस्न समेत बाध्य हुने स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले बताए । ‘हामी स्ववियु निर्वाचन चाहान्छौँ । यदी हाम्रो मागलाई बेवास्ता गरियो, हाम्रो रिले अनसनलाई कमजोर सोचेर निर्वाचन नगर्ने प्रपञ्च रचियो भने हामी भोलिका दिनमा आमरण अनसन समेत बस्ने चेतावनी दिन्छौँ,’ मियाँले भने। 

लामो विरासत बोकेको ग्रामीण आदर्श बहुमुख क्याम्पसमा गत २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । यस वर्ष निर्वाचनको सम्पूर्ण तयारी हुँदा समेत क्याम्पस प्रशासनले नै निर्वाचन गराउन नचाहेको नेविसंघको आरोप रहेको छ।

कान्तिपुर

Link copied successfully