काठमाडौँ — काठमाडौं महानगरपालिकाले एलपी ग्यासबाट हुन सक्ने जोखिम घटाउन ५६ वटा पसलमा निरीक्षण गरेको छ । महानगरको विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले धेरै वटा ग्यास सिलिण्डर बालेर खाना पकाउने ठाउँमा संयुक्त निरीक्षण गरेको हो । सचेतना अभिवृद्धि गराउने उद्देश्यले महानगरले निरीक्षण गरेको जनाएको छ ।
यसका लागि महानगरले ८ वटा सूचक र २४ वटा उपसूचकका आधारमा निरीक्षण गरेको हो । जसमा आगलागी हुँदा तत्काल निभाउन प्रयोग गरिने फायर इस्टिङ्विसरको उपलब्धता, यसलाई चलाउन कर्मचारीको तालिम, कार्यस्थलमा आपतकालीन ढोका वा मार्गको व्यवस्था र कार्यस्थलमा पर्याप्त हावा आउन–जान सक्ने अवस्थाको आधारमा निरीक्षण गरिएको थियो । यसका अतिरिक्त महानगरले काम गर्दा लगाउने सुरक्षा सामग्री वा पोसाक, भान्छामा ग्यास नियन्त्रण गर्ने, दबाब नाप्ने, स्वचालित रुपमा ग्याँसको आपूर्ति रोक्ने, ग्यास चुहिएको थाहा पाउने विधि र यसको प्रयोग, ग्यास जडान गर्दा अपनाउनु पर्ने सुरक्षा विधि, ग्यास भण्डारण सूचकमा समेटिएको जानकारी दिएको छ ।
निरीक्षणको क्रममा ग्याँसको प्रयोग गरेर खाना पकाउने व्यक्ति तथा पेशाकर्मीले सिलिण्डरमा भरिएर आएको ग्याँसमा बजारमा पाइने रेगुलेटर र पाइप जोडेपछि केही समस्या नहुने महानगरलाई उल्लेख गरेका थिए ।
घर–घरमा खाना पकाउने प्रयोजनका लागि सिलिण्डरमा भरेर ल्याइने एलपी अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यास हो । यो प्रज्वलनशील पदार्थ भएका कारण उपयोगमा सावधानी अपनाउनु सकिएन भने आगलागी हुने र सिलिण्डर बिस्फोट हुने खतरा हुन सक्ने महानगरले जानकारी दिएको छ ।
यसबाट बच्न ग्यास, सिलिण्डर तथा सिल उत्पादक, सिलिण्डर भर्ने कम्पनी, ढुवानी गर्ने सवारी साधन, यसको गुणस्तर जाँच गर्ने अधिकारी, वितरक, डिलर र बिक्रेतासँगै उपभोक्ताको आ-आफ्नै भूमिका हुने महानगरले जनाएको छ ।
