खाद्य विभाग र काठमाडौं महानगरबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने सहमति पत्रमा हस्ताक्षर

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Signing of agreement between food department and Kathmandu metropolis to maintain food hygiene and quality

काठमाडौँ — खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार विभागको कार्यालयमा काठमाडौँ महानगरपालिका र विभागबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागको तर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमति पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले विभागको संरचना ७५३ वटै पालिकामा निर्माण नभएको कारणले एकल रूपमा देशभर खाद्य स्वच्छता र गुणस्तर कायम गर्न नसकिने बताए। उनले यो काम तीन तहकै सरकारको जिम्मेवारी भएको स्पष्ट पार्दै, काठमाडौँ महानगरपालिकासँगको सहकार्यलाई मात्र प्रारम्भिक कदमको रूपमा हेर्नुपर्ने र आगामी दिनमा यो अभियान ७५३ वटै पालिकासम्म विस्तार गर्ने लक्ष्य रहेको बताए।

उनले भने, ‘हामीले एक्लै काम गरेर देशभर ७५३ वटै पालिकामा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको संरचना निर्माण नभएको अवस्थामा यो सम्भव छैन। खाद्य स्वच्छता र गुणस्तर कायम गराउने काम तीन तहकै हो। यसले ऐनले पनि परिकल्पना गरेको छ। आजको सहमति एउटा मोडलको रूपमा मात्र सुरुआत हो, जहाँ खाद्य स्वच्छता र गुणस्तर कायम गर्न महानगरपालिकाले के गर्न सक्छ भन्ने हिसाबले सहमति पत्रमा हस्ताक्षर गरेका छौँ। खाद्य ऐन, २०८१ को दफा २६ को उपदफा ६ ले पनि प्रदेश सरकार र स्थानीय तहबाट हुने खाद्य व्यवसायको निरीक्षण तथा अनुगमनमा सहयोग गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिएको छ। यस अन्तर्गत नै हामीले यो पहल सुरु गरेका हौँ।’

महानिर्देशक कर्णले ७५३ वटै पालिकासँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले विभागसँग लामो अनुभव भए पनि स्रोत र साधनको अभावका कारण केही कार्यहरूमा प्रभावकारी परिणाम दिन नसकिएको स्वीकार गरे । उनले खाद्य प्रविधि र दक्ष प्राविधिकलाई समावेश गरेर अनुगमन र नियमन कार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

खाद्य स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिने उद्देश्यले महानगरपालिकामा छुट्टै निकाय स्थापना गरेर परीक्षण, नियमन, र प्रयोगशाला व्यवस्थापनमा सुधार गर्नुपर्ने पनि उनले बताए । उनको दाबी छ कि यसरी सहकार्य गरी अनुगमनको दायरा विस्तार गर्न सकियो भने सबै नेपालीको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ।

कान्तिपुर

Link copied successfully