प्रहरीलाई एक महिनामा २८ हजार फोन, झैझगडाका धेरै

फाल्गुन २४, २०८१

विवेक पोख्रेल

28,000 phone calls to the police in a month, many of them are quarrels

काठमाडौँ — आकस्मिक प्रहरी सेवाका लागि प्रहरी कन्ट्रोलको ‘१००’ मा निःशुल्क फोन गर्न सकिन्छ । जुन जिल्लाबाट कल गरिएको छ, प्रायः सोही जिल्लाको प्रहरीको कन्ट्रोल रुममा त्यो कल पुग्छ ।

काठमाडौंमा एक महिनाभित्र २८ हजारभन्दा बढी फोन प्रहरीकोमा पुगेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार तीमध्ये १४ हजारभन्दा बढी कलमा तत्काल प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार माघ १५ देखि फागुन १५ सम्म प्रहरीको आकस्मिक नम्बर १०० मा २८ हजार ३ सय ८७ फोन कलहरू प्राप्त भएका थिए । तीमध्ये १४ हजार १ सय ६५ घटनामा तत्काल प्रहरी परिचालन गर्नुपरेको थियो ।

‘१०० नम्बरमा विभिन्न खालका फोनहरू आउँछन्, कतिपय सामान्य जानकारीका लागि हुन्छन् भने कतिपयमा तत्काल कारबाही आवश्यक पर्छ’, अधिकारीले भने, ‘तत्काल कारबाही गर्नुपर्ने घटनाको तथ्यांक ठ्याक्कै नभएपनि झैझगडा सम्बन्धी विषयको फोन बढी छन् ।’ उनका अनुसार यसबाहेक फोनमार्फत आगलागी, दुर्घटना, चोरी, महिलामाथिको हिंसा, मान्छे हराए–फेला परेको र लुटिएको भन्ने फोनमा प्रहरीले धेरै रेस्पोन्स गर्न परेको छ । 

28,000 phone calls to the police in a month, many of them are quarrels

जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार प्रहरी परिचालन गरिएकामध्ये सबैभन्दा धेरै १ हजार ९४५ वटा घटनाको रेस्पोन्स प्रहरी वृत्त महाराजगञ्जले गरेको थियो । त्यस्तै, प्रहरी वृत्त बौद्धले १ हजार ८७४, बानेश्वरले १ हजार ६०४, गौशालाले १ हजार २२०, बालाजुले १ हजार १५१, कालिमाटीले १ हजार ३५, लैनचौरले ९०६, स्वयम्भूले ८५४, जनसेवाले ६७५, थानकोटले ६३१, सिंहदरबारले ६२१, मालीगाउँले ६०९, कीर्तिपुरले ५६८ र दरबारमार्गले ४७२ घटनाको रेस्पोन्स गरेका थिए । 

एसएसपी अधिकारी तथ्यांक र प्रमाणको आधारमा आफूहरुले जिल्लाको सुरक्षामा काम गरेको बताउँछन् । ‘काठमाडौंमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि योजना बनाएर अघि बढेका छौं’, अधिकारीले भने , ‘त्यसका लागि तथ्यांक अनुसार काम गर्न अतिआवश्यक छ । हामी सोही अनुसार आफ्नो रणनिति तयार गरिरहेका छौं ।’

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully