थापाथली सडक र आसपासको क्षेत्र जलमग्न, पाइप फुट्नुको कारणबारे अध्ययन भइरहेको केयूकेएलको भनाइ
काठमाडौँ — काठमाडौंको थापाथलीस्थित सडकमा बिछ्याइएको मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार पाइप फुट्दा ठूलो परिमाणमा पानी खेर गएको छ भने सडकमा पनि क्षति पुगेको छ । आसपासको क्षेत्र जलमग्नसमेत भएको थियो । मेलम्ची खानेपानीको पाइप फुटेको यो दोस्रो पटक हो ।
गत माघ ३० मा विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा पनि मेलम्चीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको थियो । त्यतिबेला झन्डै ३० लाखलिटर पानी खेर गएको थियो । मंगलबार थापाथलीमा पाइप फुट्नुको कारण भने पत्ता लागिसकेको छैन ।
पाइपको गुणस्तर कमजोर हो कि अन्य कुनै कारणले चुहियो भन्नेबारे अध्ययन भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोक पौडेलले प्रारम्भिक चरणको अध्ययनमा पाइप ‘लिकेज’ भएको देखिएको बताए ।
मेलम्चीको पाइप बिछ्याएको ६ स्थानमा चुहावट भएकाले अहिले मर्मत भइरहेको छ । थापाथलीमा भने ठूलो पानी बाहिर आएकाले चुहावटको घटना सार्वजनिक भएको हो । आसपासका औषधि तथा फलफूल पसल र होटलहरू जलमग्न भएका थिए । ‘यस पटक छिट्टै पानी बन्द गर्न सफल भयौं,’ पौडेलले भने, ‘धेरै खेर जान र क्षति हुन पाएन ।’
केयूकेएलका अनुसार तेस्रो पक्षबाट काम हुँदा पाइपमा समस्या देखिने गरेको छ । कामका सिलसिलामा मानव त्रुटि पनि हुने भएकाले बेलाबेलामा समस्या आउने गरेको पौडेलले बताए । पानीको प्रेसरले कहिलेकाहीँ पाइपमा पनि क्षति पुग्ने उनको भनाइ छ । पौडेलले क्षतिको विवरण संकलन गरेर बिमा दाबी गरिने जानकारी दिए ।
मेलम्चीको पाइप बिछ्याउने काम काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले गरेको हो । आयोजना निर्देशनालय प्रमुख टीका चौधरीले कतै विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने क्रममा र कतै पानीको प्रेसरले पाइप फुट्ने घटना भएको बताए । अनामनगरलगायत केही क्षेत्रमा पनि पाइपमा समस्या देखिएकाले मर्मत भइरहेको उनको भनाइ छ ।
मेलम्चीको पानी २०७७ चैतदेखि काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको हो । २०७८ असारको बाढीले सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहानलाई क्षति गरेकाले पानी वितरण वर्षामा बन्द हुने गरेको छ । अहिले मेलम्चीको पानी दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा वितरण गरिँदै आएको छ ।
–अभिषेक अधिकारी
प्रशिक्षार्थी
