काठमाडौँमा मनाइयो ७७औँ अणुव्रत स्थापना दिवस

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

The 77th Anuvrat Foundation Day was celebrated in Kathmandu

काठमाडौँ — नैतिकता, सदाचार, अहिंसा र विश्व शान्तिका लागि प्रारम्भ भएको अणुव्रत आन्दोलन स्थापनाको ७७ वर्ष पूरा भएको छ । उक्त अवसरमा नेपाल अणुव्रत समितिले शनिबार काठमाडौँमा एक समारोहका बीच विचार गोष्ठी गरेको छ । जैन श्वेताम्बर तेरापन्थ धर्मसंघका आचार्य श्री तुलसीले ७७ वर्ष अगाडि अणुव्रत आन्दोलनको शुभारम्भ गरेका थिए ।

त्यसयता जैन समुदायले नैतिकता, सदाचार, अहिंसा र विश्व शान्तिका लागि एउटा आन्दोलनकै रुपमा उक्त अभियानलाई अगाडि बढाउँदै आएका छन्। शनिबार कमलपोखरीस्थित जैन भवनमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले जैन समुदायले मान्दै आएको अणुव्रत अभियान सबै मानव जातिका लागि अनुकरणीय रहेको बताइन्।

विश्व मानव समुदायले नै अनुसरण गर्न योग्य उक्त अभियानबाट स्थापित मान्यताहरूलाई प्रचार प्रसार गर्न आवश्यक रहेको उनको भनाइ थियो । 'नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदाय भएको देश हो,' उनले भनिन्, 'अणुव्रतको सन्देश सबै धार्मिक, सांस्कृतिक समुदायको सामाजिक जीवनका लागि त्यतिकै उपयोगी छ।' अहिले पनि मारवाडी समुदाय अणुव्रतमा विश्वास राख्दछन् । उनीहरूले वध गर्दैनन् र पूर्ण शाकाहारी जीवन बाँच्दछन्।

अणुव्रत आन्दोलनकै मार्गमा अहिले मारवाडी समुदाय अघि बढिरहेको नेपाल अणुव्रत समितिका अध्यक्ष फूलकुमार लालवानीले बताए । 'मानिस नैतिकवान हुनुपर्छ । सदाचार र अहिंसाको बाटोमा हिड्नुपर्छ । हत्या हिंसा गर्नुहुँदैन । शाकाहार जीवन बाँच्नुपर्छ । विश्व शान्तिकालागि कामना गर्ने र शान्तिका लागि बाँच्ने हुनुपर्छ भन्ने अणुव्रत आन्दोलनको मान्यता हो,' उनले भने।

उनले अहिले पनि उक्त अभियानकै अनुयायीकारुपमा जैन समुदायले पूर्ण शाकाहारी जीवन बाँच्दै आएको उनले बताए। कार्यक्रममा अणुव्रत विश्व भारतीका नेपाल प्रभारी ज्योतिकुमार गेगानीले अणुव्रत आन्दोलन र यसको सान्दर्भिकताका विषयमा स्पष्ट पारे।

वरिष्ठ उद्योगपति, समाजसेवी, जैन समाज रत्न एवम् अणुव्रत समितिका प्रमुख सल्लाहकार किशनलाल दुगड, नेपालस्तरीय जैन श्वेताम्बर तेरापन्थी सभाका अध्यक्ष फेनेशकुमार नौला, नेपाल जैन परिषद्का अध्यक्ष विमल चन्द राखेचा, मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद चौधरी, जैन श्वेताम्बर तेरापन्थी सभा काठमाडौँका अध्यक्ष सुभाग मल जम्मड तथा कार्यक्रम संयोजक चन्दन गैलखाले आ-आफ्नो धारणा राखेका थिए।

कान्तिपुर

Link copied successfully