काठमाडौं महानगरपालिकाले शैक्षिक मेला गर्दै

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City is holding an educational fair

काठमाडौँ — काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । 

विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।

मेलामा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक–फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन हुने महानगरले जनाएको छ । मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउनेछ । यस्तै, नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति रहेको छ । 

यो तीन चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक–फ्री फ्राइडेका दिन (२३ फागुन २०८१) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना रहेको र तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तर्क्रिया आयोजना गरिने महानगरले जनाएको छ । 

कान्तिपुर

Link copied successfully