फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका

फाल्गुन १५, २०८१

रासस

Body found buried in garbage, suspicion of murder

काठमाडौँ — काठमाडौँको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । 

काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालय भित्र फोहोरको थुप्रोले ढाकेको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । शव ओखलढुंगाको मानेभञ्याङ गाउँपालिका–७  बस्ने वर्ष ५० का अडविर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । स्थानीयले दिएको जानकारीका आधारमा पुगेको प्रहरी टोलीले म्याट्रेस, सिरानी, झोला, फोहर कपडालगायतले पुरेर राखेको अवस्थामा शव भेटिएको उनले बताए । शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । 

फोहर हटाएर हेर्दा राईको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको जस्तो देखिने चोट रहेको तथा अनुहार र कपालमा रगत लतपतिएको पाइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

रासस

Link copied successfully