प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Request to keep the police organization free from political interference

काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजले राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठनलाई मुक्त राखी प्रहरी सम्बन्धी ऐन परिमार्जन गर्न आग्रह गरेको छ ।

समाजको प्रतिनिधिमण्डलले सोमबार गृहमन्त्री रमेश लेखकसँग गृह मन्त्रालय सिंहदरबारमा भेटी प्रहरी संगठन स्वायत्त हुनुपर्ने, प्रहरी नागरिकप्रति उत्तरदायी/जवाफदेही हुनुपर्ने भन्दै आधुनिक मापदण्ड एवं संघीय संरचना अनुरुप प्रहरी संगठनको पुनर्संरचना गर्न पनि आग्रह गरेको छ ।

यसैगरी पञ्चायतकालीन संस्था दर्ता ऐन २०३४ लाई लोकतान्त्रिक समाजको मूल्य र मर्म अनुरुप संसोधन गर्न पनि शान्ति समाजले ध्यानाकर्षण गराएको छ । छुवाछुत र जातीय भेदभावका घटना घटिरहनुमा दण्डहीनता प्रमुख कारण रहेको भन्दै त्यस्ता घटनामा संलग्नहरुमाथि कानूनी कारबाही गरी सामाजिक न्याय प्रत्याभूत गर्न समेत शान्ति समाजले आग्रह गरेको छ ।

संक्रमणकालीन न्याय प्रक्रिया बारम्बार अवरुद्ध हुनु दुर्भाग्यपूर्ण भएको भन्दै समाजले पीडितलाई न्याय एवं पीडकलाई सजाय सुनिश्चित हुनेगरी संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन समेत ध्यानाकर्षण गराएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully