काठमाडौँ — प्रहरीले नेकपा (विद्रोही)को कार्यकर्ता भन्दै चन्दा असुल्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले मंगलबार काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरस्थित पञ्चकुमारी मार्गबाट खोटाङ खोटेहाङ गाउँपालिका-८ बस्ने ३९ वर्षीय भरतकुमार राईलाई पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) लेखेको पर्चा, पम्प्लेट, चिठीपत्र, लेटरप्याड, छाप, सहयोग रसिदलगायत बरामद गरिएको छ ।
राईमाथि प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हातहतियार खरखजना, बैंकिङ कसुर, विस्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान जारी रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।
