काठमाडौँ — मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा आज राति सम्पन्न भएको छ । हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए ।
जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्राङ्गणबाट सुरू भई वाननी, छ्वास, ध्वाकसि, त्वागा, न्यागाचालगायतका टोलमा परिक्रमा गरी मनाइएको हो । श्री स्वस्थानी व्रत कथा अनुसार हात्तीले राजकुमारको रुपमा ब्राम्हणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्त दिँदै आएको उनले बताए ।
यस वर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमारका रूपमा प्रस्तुत गर्दै हात्तीमा (पुलुकिसी)मा सवार गराई टोलटोलमा पुर्याइ जात्रा चलाइएको हो । राजकुमार बन्नेले सबैलाई भोज खुवाउनुपर्ने परम्परा रहेको र भोज खुवाउँदा धरै खर्च हुने भएपछि जात्रा रोकिएको स्थानीयको भनाइ छ ।
यसवर्ष समितिको छलफलबाट एलिसलाई राजकुमारको रूपमा प्रस्तुत गरिएको हो । जात्रा सुरु हुनु अगाडि आइतबार साँझ नगदेशको लाय्कुस्थित सिद्धि गणेश मन्दिर परिसरमा स्थानीयलाई भोज खवाएर पछि पुलुकिसी जात्रा सुरु भएको थियो । राजकुमार छनोट भएको खुसियालीमा भोजभतेर गर्दै नगदेशवासीले यो जात्रा मनाउने गरेको स्थानीयको भनाइ छ । यसपर्व मनाउनेक्रममा सुयोग्य वरबधुको मनोकाक्षा राख्दै युवापिँढीहरूले पनि व्रत बस्ने परम्परा रहेको छ ।
नगदेश लाय्कु दरबार समितिका सदस्य भाइजन बाडेले काठमाडौं र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा मनाउने गरिए पनि नगदेशमा भने स्वस्थानी व्रत कथामा आधारित रहेर यो जात्रा मनाउने गरिन्छ ।
