काठमाडौँ — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित पुस ९ गते तीन जनालाई पक्राउ गरेको थियो ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, सङ्खुवासभा, पाँचखपन नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ३० वर्षीय सन्तोष विक (खाती) तथा रसुवा, उत्तरगया गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर–४ लोलाङ बस्ने ३९ वर्षीय जीतबहादुर तामाङलाई शङ्कास्पद रूपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो ।
यसअघि मकवानपुर प्रहरीले मंसिर दोस्रो हप्ता स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक ईभी माइक्रोबसलाई हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलस्थित चेक प्वाइन्टका प्रहरीले रोकेर चेक गर्ने क्रममा भारत उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर,भारत उत्तर प्रदेश जिल्ला गोरखपुरका २६ वर्षीय प्रशान्त पाठकको साथबाट १४ हजार युरो र भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुलकुमार माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको हो ।
काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित हाल काठमाडौँ टोखा बस्ने चितवन भरतपुर महानगरपालिका–१५ का ४८ वर्षीय माधव श्रेष्ठ गत आइतबार पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पछिल्ला दिनहरूमा रकमको स्रोत नखुलेपछि प्रहरीको नियन्त्रण पुग्ने रकम बढ्दो छ। यसरी स्रोत नखुलेको कारोबार गर्नेमा नेपाली र विदेशी दुवै छन् । नेपाल प्रहरीसँग पछिल्लो ६ आर्थिक वर्ष २०७५ /२०७६ देखि २०८०/२०८१ सम्म स्रोत नखुलेको ३४ करोड २७ लाख ५१ हजार ५८१ रुपैयाँ बरामद भएको तथ्याङ्क छ।
प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७५/२०७६ मा १ करोड ५९ लाख १० हजार ९५९, आर्थिक वर्ष २०७६/२०७७ मा ८९ लाख ५ सय, आर्थिक वर्ष २०७७/२०७८ मा ७ करोड २९ लाख २७ हजार ८ सय ५०, आर्थिक वर्ष २०७८/२०७९ मा ११ करोड ५४ लाख ४४ हजार ६२४, आर्थिक वर्ष २०७९/२०८० मा ५ करोड ५३ लाख ८७ हजार ६०८ रुपैयाँ र २०८०/२०८१ मा ७ करोड ४१ लाख ८० हजार ४० रुपैयाँ बरामद गरिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यका अनुसार यसरी नियन्त्रण भएको रकम भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयमा पुग्छ । स्रोत नखुलेको रकममा अनुसन्धान पूरा भएपछि भने कानुन अनुसार नेपाल सरकारको राजस्वमा दाखिला हुन्छ । एउटै विषयमा एक मानिसलाई एक भन्दा बढी मुद्दा लगाउन पाइँदैन ।
तर, स्रोत नखुलेको रकम चोरी, ठगी वा अन्य केही बाट आएको हो भने सो विषयमा समेत अनुसन्धान गरेर मुद्दा चल्ने गरेको उनले बताए । आचार्यका अनुसार पछिल्लो दिनहरूमा हुन्डी कारोबार स्रोत नखुलेको पैसा नियन्त्रणमा बढी आउने गरेको छ ।
१० लाख भन्दा माथिको रकम भेटिएमा स्रोत सो को स्रोत खुलाउन पर्ने नियम छ ।कुनै पनि लगानीका लागि र आर्थिक अपराध बढेको कारण स्रोत नखुलेको रकम समेत बरामद हुने दर बढेको छ । पछिल्लो समय बैंकिङ कारोबारलाई प्रोत्साहन गरिएकोले आर्थिक अपराध नियन्त्रणका लागि बैंकबाटनै कारोबार गर्दिन प्रहरीको अनुरोध छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल स्रोत नखुलेको पैसाको परिणाम बढ्दा यसले प्रत्यक्ष रूपमा देशकै अर्थतन्त्रमा असर पर्ने बताउँछन् । उनका अनुसार बैंकिङ कारोबारसँग देशको राजस्व र ट्याक्समा यसले असर पुर्याउने उनले बताए ।
