काठमाडौँ — काठमाडौं महानगरपालिकाले ४६ हजार ९८५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एच.पि.भी) दिइने लक्ष्य राखेको जनाएको छ । महानगरभित्रका किशोरीहरूलाई उक्त क्यान्सर विरुद्धको खोप दिइने भएको हो ।
सोमबार बसेको महानगरको खोप समन्वय समितिको बैठकमा, महिला स्वास्थ्य र खोपका विषयमा कुरा गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले उक्त महानगरले सञ्चालन गरेको सहभागितामूलक दीर्घ रोग रोकथाम कार्यक्रममा नागरिकबाट सहयोग हुने अपेक्षा राखिन् ।
सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० वर्षसम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई उक्त खोप दिइने महानगरले जानकारी दिएको हो ।
यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागले सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका छात्राको संख्या गणना गरेको छ । विभागको विरणमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् । यी विद्यालयमा ४२ हजार ५७ जना छात्रा अध्ययनरत छन् । विद्यालयबाहिर ४ हजार ९२८ जना किशोरी रहेको महानगरले जानकारी दिएको छ ।
स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले महानगरले माघ २२ गते र माघ २५ गते गरेर दुई चरणमा अभियान उक्त अभियान सुरु गर्ने बताए ।
‘पहिलो चरणमा वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० वडामा खोप सुरु हुनेछ,’ उनले भने, ‘वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।’
प्रति १ लाख महिलामध्ये ४ भन्दा कम संख्यामा क्यान्सर सिमित गराउने लक्ष्य अनुरूप खोप सेवा सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले बताए ।
