काठमाडौँ — काठमाडौं महानगरपालिकाले महानगरभित्र गुड्ने सवारीसाधनको प्रदूषण जाँचलाई निरन्तरता दिएको छ । सोही क्रममा सोमबार ४० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा ३१ वटा मापदण्डविपरीत रहेको पाइएको छ ।
महानगरले काठमाडौंको चक्रपथ–सुकेधारा भएर गुड्ने डिजेल गाडी जाँचका क्रममा मापदण्डबाहिर रहेको पाइएको जानकारी दिएको हो ।
महानगरले गत पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा सवारी साधन मापदण्डबाहिर रहेको पाइएको थियो । यसैगरी माघ २ गते जमल क्षेत्रमा २० वटाको चेक गर्दा ६ वटा फेल भए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको जाँच गर्दा १४ वटा मापदण्डविपरीत थिए । यसैगरी महानगरले माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० र माघ ६ गते टेकुमा ४० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा ३३ वटा मापदण्डबाहिर रहेको पाइएको महानगरले जानकारी दएिको छ ।
परीक्षणको क्रममा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको महानगरले जानकारी दिएको छ । यससँगै अर्को पटकको जाँचमा गल्ती दोहोरिए जरिवाना तिराउने महानगरले जनाएको छ ।
मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्मण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतशित (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भाेल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारी साधनका लागि सवारीको धूँवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हार्टरिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५एचएसयू हुनुपर्ने प्रावधान मापदण्डमा छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखिए कारबाही गरिने महानगरले जनाएको छ ।
