काठमाडौँ — काठमाडौं महानगरपालिकाले पाँच दिनमा १२० वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा ६९ वटा मापदण्ड बाहिर गएको पाइएको जनाएको छ ।
जसमा डिजेलबाट चल्ने ६३ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी साधन रहेका छन् । जसमा महानगरले १ सय वटा डिजेलबाट र २० वटा पेट्रोलबाट चल्ने सवारी साधनको प्रदूषण परीक्षण गरेको थियो ।
महानगरले गत पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा सवारी साधन मापदण्ड बाहिर रहेको पाइएको थियो । यसैगरी माघ २ गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको जाँच गर्दा १४ वटा मापदण्ड विपरित थिए ।
यसैगरी महानगरले माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० र माघ ६ गते टेकुमा ४० वटा सवारी साधनको प्रदुषण जाँच गर्दा ३३ वटा मापदण्ड बाहिर रहेको पाइएको महानगरले जानकारी दिएको छ । परीक्षणको क्रममा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको महानगरले जानकारी दिएको छ । यससागै अर्को पटकको चेकजाँचमा गल्ती दोहोरिए जरिवाना तिराउने महानगरले जनाएको छ ।
वायु प्रदुषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदुषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले संघीय सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।
सडकमा गुड्ने अन्य सवारी साधनसाग आफौले प्रयोग गर्ने सवारी साधनको गुणस्तरका लागि प्रशासन विभागले मातहतका विभाग, सचिवालय, आयोजना, एकाइ र वडा कार्यालयलाई माघ ४ गते परिपत्र गर्दै अन्तर्गत सञ्चालनमा रहेका सवारी साधनको प्रदुषण जाँचपास गरेर हरियो स्टिकर राख्न तथा सवारी साधन दर्ता प्रमाण पत्र साथमै राख्न निर्देश गरेको छ ।
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१ समेत जारी गरेको छ ।
