वाग्मती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

पुस २३, २०८१

कान्तिपुर संवाददाता

Wagmati Action Plan will proceed in a nature-friendly manner: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वाग्मती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन् । मंगलबार अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरूसँग प्रस्तावित वाग्मती कार्ययोजनामाथि छलफल कार्यक्रममा सिंहले अबका योजनाअनुसार प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताएका हुन् । 

‘वाग्मती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तरता दिएका छौं । वाग्मती कार्ययोजना प्रकृतिमैत्री रूपमा अगाडि बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’ उनले भने,‘यहाँको वातावरण सहुाउनेगरी योजना अघि बढाउँछौं । कार्ययोजनामा छलफलमा आएका सुझावहरू समेटेर, सरोकारवालाहरूसँग छलफल गरेर अन्तिम रूप दिन्छौं ।’ उनले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्त्वपूर्ण सुझावहरु आएको पनि बताए । 

वाग्मती कार्ययोजनाले वाग्मती नदी प्रणालीमा रहेका १७ वटा अरु नदीको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र,ग्रामीण क्षेत्र,उपसहरी क्षेत्र,सहरी क्षेत्र र तल्लो क्षेत्र गरि ५ भागमा वर्गीकरण गरेर अध्ययन गर्नेछ । २० वर्षे कार्ययोजनाको लागत अनुमान २ खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए । 

सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न वाग्मती सभ्यता योजनाले वाग्मती कार्ययोजना २०२४-४४ माथि छलफल आयोजना गरेको हो । छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरि प्रकृतिमैत्री रुपमा योजना अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, किर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, शंकरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ,तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, गोदावरी नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनलगायतको सहभागिता थियो । नगर प्रमुख र उपप्रमुखले वाग्मती करिडोरलाई व्यवस्थित गर्ने, हरियाली कायम गर्नेगरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

कान्तिपुर

Link copied successfully