काठमाडौँ — राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबीच ललितपुरस्थित जावलाखेल सदर चिडियाखानाको सञ्चालनका लागि सम्झौता नविकरण भएको छ ।
कोषले आइतबार चिडियाखाना व्यवस्थापनको २९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको एक समारोहका बीच विभागसँग सम्झौता नवीकरण गरिएको हो । सम्झौता पत्रमा कोषका सदस्य सचिव नरेश सुवेदी र विभागका महानिर्देशक रामचन्द्र कँडेलले हस्ताक्षर गरे ।
१९८९ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेर जंग बहादुर राणाले स्थापना गरेको यस सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ६० वर्षका लागि हस्तान्तरण गर्ने भनी २०५२ पुस १४ गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको थियो । उक्त निर्णय बमोजिम कोषले चिडियाखाना व्यवस्थापन गरेको २९ वर्ष पूरा भएको छ ।
चिडियाखाना व्यवस्थापनको पहिलो ३० वर्षको अवधि पूरा भएपछि थप ३० वर्ष कोषले व्यवस्थापन गर्ने भनी सरकारको मन्त्रिपरिषद्ले गत कात्तिक २ गते निर्णय गरेको थियो । सोही निर्णयबमोजिम कोष र विभागबीच सम्झौता भएको हो ।
