काठमाडौँ — काठमाडौं महानगरपालिकाले १ अर्ब ५ करोड ९१ लाख ३ हजार रुपैयाँ बराबरको ८४ वटा विस्तृत परियोजनाहरूको प्रतिवेदन तयार पारेको जनाएको छ ।
महानगरको सहरी योजना आयोगले चालु आवको यस समयको अवधिमा सो परियोजनाको प्रतिवेदन तयार पारेको जनाएको छ । आयोगका सचिवलायका प्रमुख धनबहादुर बस्नेतले बिहीबार बजेट तर्जुमा समितिमा अहिलेसम्मको प्रगतिका विषयमा प्रस्तुतिकरण गर्दै योजनाका विषयमा सो जानकारी गराएका हुन् । साथै उनले आयोगले अहिलेसम्म १८.६७ प्रतिशत वित्तिय प्रगति गरेको समेत बताए ।
महानगरको अनुसार ८४ वटा परियोजनामा सम्पदासँग सम्बन्धित ३७, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १४ र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजनाहरू रहेको महानगरले जानकारी दिएको छ ।
यसैगरी हाल सो समितिले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमको समीक्षा गर्दै कार्यान्वयनमा आउन कठिन भएका कार्यक्रम र यसको सट्टा कार्यान्वयनमा लैजान आवश्यक कार्यक्रममा संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल गरिरहेको जनाइएको छ ।
