शिक्षा, संस्कृति सम्पदा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार, ढल निकास, सरसफाइलगायतमा अन्तर्क्रिया
काठमाडौँ — ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा स्थानीय समस्यामा अन्तरक्रिया भएको छ । कान्तिपुर टीभीले आइतबार आयोजना गरेको ‘महानगर महाबहस : स्थानीय मुद्दा राष्ट्रिय चासो’ विषयक बहसमा शिक्षासँगै संस्कृति सम्पदा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार, ढल निकास, सरसफाइलगायतमा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा किशोरीहरूले महिनावारी भएका बेला सामुदायिक विद्यालयमा सेनेटरी प्याड व्यवस्थापनको मुद्दा उठाएका थिए । पाटन दरबार क्षेत्रको आदर्श कन्या निकेतन माविमा कक्षा ८ मा पढ्ने छात्रा सुनिता सुनारले विद्यालयमा प्याड फेर्न र त्यसलाई नष्ट गर्न समस्या हुने गरेको सुनाइन् । ‘प्याडले गर्दा विद्यालय फोहोर भएको छ, वातावरणमैत्री रूपमा नष्ट गर्न महानगरले पहल गरिदिओस्,’ उनले आग्रह गरिन् । विद्यालयको शौचालय फोहोरले भरिएको हुने र पानीसमेत नहुने उनीहरूको गुनासो थियो ।
‘सरकारले एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरे पनि सबै विद्यालयमा लागू नभएको पाटन त्रिपद्म माविमा कक्षा ९ मा पढ्ने विजय खड्काले बताए । ललितपुर महानगरमा ४० सामुदायिक विद्यालय छन् । ती विद्यालयमा विषयगत शिक्षक अभाव, राजनीतिक पहुँचमा शिक्षकको सरुवा, खेल मैदान मासेर व्यापारिक भवन निर्माण, आधुनिक साइन्स ल्याबको अभावजस्ता समस्या रहेको अभिभावक संघका प्रतिनिधिले बताए ।
२०७२ मा भूकम्पका कारण भत्केको रातो मत्स्येन्द्रनाथको मन्दिर, पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माणबारे पनि छलफल भएको थियो । त्यसअघि नै भत्किएको पाटन दरबार क्षेत्रको मनमानेश्वर देवीको मन्दिर, लिच्छविकालीन मू छेँ आँगम घर, उमामहेश्वर र भष्मेश्वर मन्दिरको पनि पुनर्निर्माण हुन सकेको छैन । देगु तलेजु मन्दिर भने पुनर्निर्माण भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले दरबार क्षेत्रको नरसिंह मन्दिर पुनर्निर्माण गर्ने क्रममा रहेको बताए । ‘२०७२ को भूकम्पले क्षतिग्रस्त दरबार क्षेत्रको अन्य सम्पदा पुनर्निर्माण भइसकेको छ,’ उनले भने ।
सर्वोच्च अदालतले वडाध्यक्ष र सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न रोक लगाए पनि खस्केको सामुदायिक विद्यालय उकास्न महानगरले पहल गर्ने महर्जनले बताए । ‘ललितपुर महानगरमा ५ वटा नाम चलेका निजी विद्यालय छन् । ती विद्यालयले भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्छ,’ उनले भने, ‘महानगरभित्रका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिने उद्देश्यले कार्यविधि बनाइरहेका छौं ।’
‘आमा सुरक्षा कार्यक्रम’ लागू भएका स्वास्थ्य संस्थामा सुत्केरी गराएमा सरकारले यातायात खर्च दिने व्यवस्था छ । तर, ललितपुर महानगरमा यो कार्यक्रम लागू भएको छैन । पाटनका अनिल श्रेष्ठले स्वास्थ्य बिमा कार्यक्रमका लागि पुल्चोकमा यल स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याए पनि आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याउन पहल नगरेको भन्दै गुनासो गरे । ‘अहिले प्रसूतिका लागि पाटन अस्पतालमा जानुपर्दा निकै भीडभाड हुने गरेको छ,’ उनले भने ।
ललितपुर महानगरमा पछि गाभिएका चक्रपथबाहिरका बस्तीका स्थानीयले महानगरले हरिसिद्धि, धापाखेल, खोकना, बुङमतीलगायत स्थानको विकासमा खासै चासो नदिएको गुनासो गरेका छन् । ‘पुल्चोक, जावलाखेल, कुपन्डोलको दाँजोमा हामी गाउँपालिकाभन्दा तल्लोस्तरका बासिन्दाजस्तो भएका छौं,’ हरिसिद्धिका रामहरि नगरकोटीले भने, ‘हामीले महानगरवासीको महसुस गर्न पाऔं ।’
महानगर प्रमुख महर्जनले चक्रपथबाहिरका क्षेत्र विकासका लागि बजेट विनियोजन गर्दै आएको बताए । स्वास्थ्य क्षेत्रमा पनि धेरै काम गरेको उनको तर्क थियो । ‘प्रत्येक वर्ष निमोनियाको खोप वितरण गर्दै आइरहेका छौं,’ उनले भने । खोकनामा मुस्किलले सातामा दुई दिन खानेपानी आउँछ । झन्डै दुई दशकदेखि त्यहाँका स्थानीयले यो समस्या भोग्दै आएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीलाई किताबकापीसँगै जारमा पानी बोक्नुपर्ने बाध्यता रहेको विद्यार्थीले ध्यानाकर्षण गराए । महानगर प्रमुख महर्जनले डेढ–दुई वर्षमा खोकनालगायत बस्तीमा घर–घरमा खानेपानी पुग्ने दाबी गरे ।
उच्च अदालत पाटनबाट आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउन नहुने भन्दै फैसला भइसकेको मुद्दामा प्रमुख महर्जनले जबर्जस्ती बनाउन खोजेको भन्दै आलोचना भएको थियो । फोहोरमैला घरमै छुट्याउन पहल गर्नुपर्ने, खुला क्षेत्र, सार्वजनिक जग्गा, असोजमा आएको बाढीपाहिरोले पुर्याएको क्षतिका विषयमा पनि छलफल भएको थियो । ललितपुर–१४ का वडाध्यक्ष अमृतजंग महतले विपत्मा प्रमुख जिल्ला अधिकारी संयोजक हुने, प्रहरी, सेना सबै सीडीओअन्तर्गत हुने तर काम नगरेको भन्दै वडाध्यक्षलाई गाली गर्ने परिपाटी रहेको बताए । ‘नख्खुमा परेका बाढीपीडितलाई वडाको पुरानो भवनमा आश्रय दिएर राखेका छौं,’ उनले भने ।
ललितपुर तयारी पोसाक व्यापार संघका प्रतिनिधिले फुटपाथ व्यवसायीको व्यवस्थापन, व्यवसायी तथा घरबहाल करसम्बन्धी नियम बनाउनुपर्ने आग्रह गरेका थिए । महानगरको तालिमलाई सीपमा बदलेर रोजगारी सिर्जना गर्नुपर्ने, अपांगतामैत्री फुटपाथ तथा संरचना बनाउनुपर्नेजस्ता विषय उठेका थिए ।
