नगरपालिकाले भत्कायो विष्णुमती किनारमा अतिक्रमण गरी बनाइएका संरचना

पुस १, २०८१

कान्तिपुर संवाददाता

The municipality demolished the encroaching structures on the banks of Bishnumati

काठमाडौँ — टोखा नगरपालिकाले विष्णुमती नदी करिडोरमा बनेका अतिक्रमित संरचना भत्काएको छ । वडा नं. ३ स्थित नदी करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचनामा नगरपालिकाले डोजर चलाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार नदीको बहाबलाई खोल्न नदीको निकास खुलाएर सो क्षेत्रमा डोजर चलाइएको हो । यसअघि नगरपालिकाले मंसिर ४ गते वडा नं. ९ बसपार्कस्थित विष्णुमती करिडोरमा भएका ८२ टहरा हटाएको थियो ।

नगरपालिकाले नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि नदी आसपास बनेका अवैध संरचनाहरु भत्काएको जानकारी दिएको छ । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं. ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । 

जसअनुरुप २०८० माघ १९ गते टोखा नगरपालिका–११ स्थित बानियाँटार पुलदेखि मनोरथ तीर्थसम्मका अवैध संरचना हटाइएको थियो । यसैगरी २०८१ जेठ २ गते नगरपालिकाले विष्णुमती करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काएको थियो । टोखा नगरपालिका-९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन पनि नगरपालिकाले भत्काएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully