काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किराती चोकनजिकको वाग्मती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल लगिएको थियो । उपचारकै क्रममा आइतबार बिहान ५:४५ बजे उनको मृत्यु भएको छ । अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छ ।
प्रहरीका अनुसार महिलाको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थलमा फेला परेको ‘सुसाइड नोट’मा महिलाले आफ्नो मृत्युका लागि कसैलाई दोष नदिन अनुरोध गरेकी छिन् ।
प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोदारका अनुसार सुसाइड नोटमा 'मलाई रिस उठिरहन्थ्यो, श्रीमान्लाई पनि सहयोग गर्न सकिनँ, मेरो मृत्युको कारण कसैलाई पनि दोष छैन' लेखिएको छ । नोटमा घटनाबारे आफ्ना श्रीमान्लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत राखिएको गोद्दारले जानकारी दिए ।
शनिबार दिउँसो १२ बजेतिर चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
