उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा महानगरको कामको प्रशंसा
काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘३० औं महानगर दिवस–२०८१’ मनाएको छ । टुँडिखेलमा शनिबार विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरी महानगरले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई सरकारप्रति भरोसा जगाउन महानगरले अहम् भूमिका खेलेको उल्लेख गरे । ‘जनस्वास्थ्य, वातावरणीय सुधार, सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति, रोजगारी र आयसहित पूर्वाधार, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा महानगरपालिकाकाले सम्पन्न गरेका काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइयोग्य रहेका छन्,’ उनले भने, ‘गएको आर्थिक वर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने ठानेको छु ।’
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरलाई राजधानीवासीका लागि मात्र नभई ७७ जिल्लाका नेपालीहरूको राजधानी बनाउने बताए । ‘यो महानगर आफैंमा राजधानी हो । यो राजधानीवासीका लागि मात्र नभएर ७७ जिल्लाबाट आउनुहुने सम्पूर्ण नेपालीको राजधानी बन्न सकोस्,’ उनले भने, ‘महानगर आफैंमा सम्पदायुक्त, विभिन्न सांस्कृतियुक्त, कला र सम्पदाले भरिपूर्ण रहेकाले सुशासनयुक्त अझै समृद्ध, अझै बस्नयोग्य, सम्पूर्ण नेपालीहरूका लागि बस्नयोग्य बन्न सकोस् ।’
त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरबाट सम्पादन हुने कार्यहरूलाई पारदर्शी र सहभागितामूलक बनाउन प्रयास गरिरहेको बताइन् । ‘महानगरपालिकाबाट सम्पादन हुने कार्यहरू सम्बन्धित नीतिगत व्यवस्था, सार्वजनिक सेवा प्रवाह, विकास व्यवस्थापन, दैनिक प्रशासनिक कार्यहरूलाई नागरिकमैत्री, मितव्ययी र त्यसैगरी प्रभावकारीमूलक, सहभागितामूलक, पारदर्शी बनाउनका लागि हरतरहबाट निरन्तर प्रयास गरिरहेका छौं,’ डंगोलले भनिन्, ‘यसका लागि सूचना तथा प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग तथा आवश्यक नीति र कानुन तर्जुका साथै सोको कार्यान्वयन, स्रोत साधनको प्रभावकारी परिचालन हाम्रो प्रमुख जिम्मेवारी रहेको छ ।’
उनले महानगरले निरन्तर रूपमा गर्नुपर्ने कामहरूलाई स्वर्णिम योजना र दीर्घकालीन रूपमा नतिजा देखिने योजनालाई गौरवका योजनाका रूपमा कार्यान्वयन गरिरहेको समेत जानकारी दिइन् । महानगरलाई अन्य पालिकासँग सिधा जोड्न महानगरले नीतिगत कार्यक्रमका रूपमा व्यवस्था गरिएको र बालबालिकालाई वातावरणसँग जोड्न ‘बाबा’ अर्थात् बालबालिका तथा वातावरण क्लबले उदाहरणीय भूमिका खेलेको उनको भनाइ छ ।
१० जना स्रष्टालाई महानगरको नगद सहित सम्मान
महानगरले सोही अवसरमा १० जना स्रष्टालाई जनी एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । कार्यक्रममा उपस्थित उपराष्ट्रपछि यादव, प्रमुख शाह र उपप्रमुख सुनिता डंगोललगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगदसहित सम्मान गरिएको हो ।
लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा.अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पीएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के. सुन्दरलाई सम्मान गरिएको हो । खेलतर्फ तेक्वान्दोकी संगीना वैद्य, भलिबलबाट प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित भए ।
महानगर दिवसका अवसरमा टुँडिखेलमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सांगीतिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ, सुगम पोखरेल एन्ड द बाजागाजा, केहर लिम्बू एन्ड जोय ब्यान्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमलगायत कलाकारले प्रस्तुति दिएका थिए । यसैगरी कार्यक्रममा सबै वडाबाट ल्याइएका सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेललगायत प्रदर्शन गरिएका थिए । यस्तै दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर र फोहोर संकलन गर्ने लगायतका महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणको पनि प्रदर्शन गरिएको थियो ।
