अवैध लागूऔषधसहित चार जना पक्राउ

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Four people arrested with illegal drugs

काठमाडौँ — काठमाडौं महानगरपालिका-३२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित झापा कचनकवल गाउँपालिका-७ ठेगाना भएका २७ वर्षीय छिरिङ लामा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-२ शिक्षा कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय ज्ञानु धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा ९ किलो ८ सय ५० ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ झ्याके बस्ने ५२ वर्षीय प्रताप सिंह मोक्तान र उनकै श्रीमती ५० वर्षीया राम माया मोक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully