काठमाडौँ — प्रहरीले ठगी सम्बन्धी कसूरमा संलग्न प्रतिवादी बैतडीको पाटन नगरपालिका–४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० मिलनचोक बस्ने करन सिंह बिष्टलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ठ नगरपालिका–१० मिलनचोकबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफू गृहमन्त्रीको सचिवालयमा पीएको रूपमा कार्यरत रहेको र विभिन्न निकायका उच्च पदस्थ व्यक्तिहरूसँग निकट रहेको भनी झुक्याएको देखिएको छ ।
विष्टले सरकारी जागिर, सरूवा बढुवा गरिदिने, बैदेशिक रोजगारमा पठाइदिने तथा सरकारी अनुदान रकम उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई ठगी सम्बन्धी कसूर मुद्दामा अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
