सामाजिक सञ्जाल दुरूपयोग गरी चरित्रहत्या गर्ने तीनजना पक्राउ

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Three arrested for character assassination by misusing social media

काठमाडौँ — प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेलाका कृष्णप्रसाद अधिकारी, चितवन भरतपुर महानगरपालिका–१२ का रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काईका लक्ष्मण यादव रहेका छन् ।

उनीहरुमध्ये कृष्णप्रसाद र लक्ष्मणले फेसबुक साथीसँग कुराकानी गर्नेक्रममा आदानप्रदान गरिएका गोप्य तस्बिर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको र रूपकले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिरसहित अश्लिल शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित हृवाट्स एप ग्रुपमा सेयर गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कृष्णप्रसाद र रूपकउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । लक्ष्मणलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गरिने केन्द्रीय साइबर ब्युरोले जनाएको छ ।

कान्तिपुर

Link copied successfully