काठमाडौँ — प्रहरीले ज्यान मार्ने कसुरका फरार ४ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन बस्ने लम्जुङ दूधपोखरी गाउँपालिका–५ घर भएका सुमित तामाङ, सुसन तामाङ, धादिङ रुबि भ्याली गाउँपालिका–४ घर भएका उम्बे गुरुङ र आशिष गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु टोखा नगरपालिका–१० गोंगबुस्थित क्रेजी चिया भट्टीमा २ जना पुरुषलाई गत भदौ ३० गते राति ज्यान लिने मनसायले रड र सिसाको बोतलले प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रही फरार रहेका थिए ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
