एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा एक पक्राउ

श्रावण २२, २०८१

रासस

One arrested on the charge of cheating more than 1 crore

काठमाडौँ — वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

 पक्राउपर्नेमा सिराहा करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, 'काठमाडौँको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी अरब, मलेसिया र कुवेतलगायत देशमा पठाउने भनी रवीन्द्र सापकोटासँगको साझेदारीमा निजले एक करोड ९७ लाख १७ हजार रुपैयाँ लिइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।'

पक्राउ परेका ठाकुरबाट ८५ जना पीडित भएको सूचना अधिकारी आचार्यले बताए । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रासस

Link copied successfully