सहकारीको १२ करोड रुपैयाँभन्दा बढी हिनामिना गरी भागेका अध्यक्ष पक्राउ

पुस २३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंमा रहेको एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । काठमाडौंको तीनकुनेस्थित केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी का अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले गत बुधबार पक्राउ गरेको हो । 

बुधबार नै उनीहरूलाई पक्राउ गरिए पनि सीआईबीले आज मात्र सार्वजनिक गरेको हो । 

उक्त सहकारीले जोरपाटी र भक्तपुरमा पनि शाखा सञ्चालन गरेको थियो । सहकारीमा पैसा जम्मा गरेबापत आकर्षक ब्याज आउने भन्दै उनीहरूले बचतकर्तालाई लोभ देखाएको र पैसा फिर्ता नदिएको पनि सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जाजकारी दिएका छन् । बचतकर्ताले पटक-पटक ताकेता गर्दा पनि अध्यक्ष कठायतले पैसा फिर्ता नगरी संस्था नै बन्द गरी फरार भएका थिए । 

अहिलेसम्म प्राप्त जानकारीअनुसार बचतकर्ताको जम्मा १२ करोड ३५ लाख ४८ हजार २ सय ९२ रुपैयाँ अपचलन र हिनामिना भएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully