ट्राफिक प्रहरीको ‘यात्रुसँग दुई मिनेट’ चेतनामूलक कार्यक्रम सुरु

श्रावण ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारदेखि साताव्यापी ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डीआईजी पोषराज पोखरेलले सुन्धारास्थित काठमाडौं मलअगाडिको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको थालनी गरेका छन् ।  

गाडी पूर्ण रूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले सवारी दुर्घटना हुँदै आएको भन्दै ट्राफिक प्रहरीले अभियानकै रूपमा कार्यक्रम तय गरेको डीआईजी पोखरेल बताउँछन् । सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपुर्ण जिम्मेवारी रहने भएकाले कार्यक्रमको थालनी गरेको जनाएको छ ।  

मादक तथा लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको शंका लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा/नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डीआईजी पोखरेलले अनुरोधसमेत गरेका छन् ।

ट्राफिक प्रहरीले 'बस बिसौनीबाट मात्र गाडी चढौं', 'सवारी साधनमा हुने पकेटमारीबाट बचौं', 'सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौं'लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नु पर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरेको छ । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले चोक–चोकमा ब्यानरसमेत प्रदर्शन गरेको छ । 

यात्रुको आवतजावत बढी हुने स्थानहरू काठमाडौंका न्यूरोड, शान्तिवाटिका, कालिमाटी, कलंकी, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वरलगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म चेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाएको छ । 

कान्तिपुर

Link copied successfully