१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

काठमाडौं महानगरका मेयर शाह पुगे बस्नेत निवास

मेयर शाहले विगतका असमझदारी हटाएर सहकार्य गरेर अघि बढ्न बस्नेतसँग आग्रह गरेका थिए ।
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नेकपा एमाले नेता महेश बस्नेतलाई भेट्न उनकै निवास भक्तपुर पुगेका छन् । मेयर शाहले विकास निर्माणको नाममा भत्काउने र कानुनको समेत ख्याल नगरेको भन्दै बस्नेतले उनका कदमविरुद्ध सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट आलोचना र टिप्पणी गर्दै आएका छन् ।

काठमाडौं महानगरका मेयर शाह पुगे बस्नेत निवास

बस्नेतका टिप्पणीमाथि प्रतिटिप्पणी गर्दै आएका मेयर शाह बुधबार बिहान बस्नेतको निवास गुन्डु पुगेका हुन् । शाहले काठमाडौंको टुकुचा र ठूला भवनका पार्किङ खुल्ला गर्ने क्रममा डोजर चलाउँदा एमाले नेता बस्नेतले उनीविरुद्ध कडा टिप्पणी गरेका थिए । मेयर शाह स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै बस्नेतलगायत नेताहरुले उनलाई सम्हालिएर काम गर्न चेतावनी दिएका थिए ।

शाहले पार्किङ खुल्ला गर्ने क्रममा डोजर लगाउँदा बस्नेतले गरेको टिप्पणीमाथि जवाफ दिँदै 'नियम पालन सबैले गर्नुपर्छ कमरेड‚ बरु हजुरको घरको नक्सा छ कि छैन' भनेका थिए । बस्नेत निवासमा खाना खाएर फर्केका शाहले विगतका असमझदारी हटाएर सहकार्य गरेर अघि बढ्न बस्नेतसँग आग्रह गरेका थिए ।

नेता बस्नेतले राम्रा कामहरुमा आफूहरुको सँधै साथ रहने र सहकार्य समेत गर्ने प्रतिबद्धता जनाएको बताए । भक्तपुर पुगेका मेयर शाहले गुण्डु आसपासमा भएका विकास निर्माणका कामको पनि अवलोकन गरेका थिए ।

प्रकाशित : फाल्गुन २४, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?