कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

मौलिक शैलीमा उभियो लायकु

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमिको लायकु टोलमा रहेको मल्लकालीन दरबार (लायकु) मौलिक शैलीमा पुनर्निर्माण गरिएको छ । २०७२ वैशाखको भूकम्पले उक्त दरबार क्ष्तिग्रस्त भएको थियो ।

मौलिक शैलीमा उभियो लायकु

मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा १ करोड बजेट छुट्याएर थालेको पुनर्निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको उपभोक्ता समितिले जनाएको छ । लायकुको छाना छाउन करिब दुई सय स्थानीय बासिन्दाले श्रमदानसमेत गरेका छन् । उक्त दरबारमा २०२१ सालदेखि आदर्श मावि सञ्चालित छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा (सीएलपीआईयू) ले क्षतिग्रस्त दरबार मौलिक शैलीमा पुनर्निर्माण गर्न अस्वीकार गरेपछि नगरपालिका आफैं अघि सरेको थियो । लायकु दरबार पुनर्निर्माण उपभोक्ता समितिमार्फत क्रमागत रूपमा काम थालिएको हो । मल्लकालीन दरबार पुनर्निर्माणको काम पुरा हुँदा लागत करिब ३ करोड रुपैयाँ पुग्ने उपभोक्ता समितिका अध्यक्ष विकेश श्रेष्ठले बताए ।

पुनर्निर्माणको काम आगामी असारभित्र पुरा हुनुपर्ने सम्झौता छ । ‘सीएलपीआईयूले मौलिक शैलीको नक्सा अस्वीकार गरेर विनियोजित बजेटसमेत फिर्ता गरेको थियो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिका उपप्रमुख विजयकृष्ण श्रेष्ठले भने, ‘सीएलपीआईयूले डन्डी, सिमेन्टको प्रयोग गरी आरसीसी भवन निर्माण गर्ने अडान नछाडेकाले नगरपालिकाले पुनर्निर्माणको अगुवाइ गरेको हो ।’ पुनर्निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।

भक्तपुरका अन्तिम राजा रणजित मल्लले गंगा महारानीका लागि निर्माण गरेको दरबार भत्किएको थियो । जीर्णोद्धारका क्रममा दुई तलामा सीमित दरबार हालको लायकु रहेको अध्यक्ष विकेश श्रेष्ठ बताउँछन् ।

नगरपालिकाले आदर्श मावि लायकुलाई नगरको नमुना विद्यालय घोषणा गरी सुविधासम्पन्न संरचना निर्माणलाई जोड दिइएको जनाएको छ । उक्त भवनमा भूकम्पअघि विद्यालयले १० वटा कक्षा चलाएको थियो । उपभोक्ता समितिमार्फत नगरपालिकाले भवन पुरातात्त्विक स्वरूपमा चुना, सुर्कीको प्रयोगमा दलिन राखेर, कलात्मक बुट्टे झ्याल, ढोका राखेर पुनर्निर्माण गरिरहेको छ । भवन पुनर्निर्माणका लागि जग खन्ने क्रममा ६/६ फिटको गारो भेटिएको र सोही स्वरूपमा पुनः गारो लगाएर जग उठाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । भूकम्पले दरबारका तीनवटा भवन भत्किएका थिए ।

प्रकाशित : फाल्गुन १५, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x