मजदुरको हत्या आरोपी १७ वर्षपछि पक्राउ 

काठमाडौँ — प्रहरी वृत्त जगातीले हत्या आरोपित दुई जनालाई १७ वर्षपछि पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक साविक बालुवापाटी गाविस–१, हालको मण्डनदेउपुर नगरपालिका–१ का ४० वर्षीय सुक, सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ छन् ।

उनीहरूविरुद्ध सल्यान कपुरकोट घरभई ताथलीस्थित लक्ष्मी इँटाभट्टामा मजदुरी गर्ने ४५ वर्षीय कृष्ण योगीको हत्या आरोप छ ।

योगी २०६२ माघ ३० गते साविक भक्तपुर ताथली गाविस–८, चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश इँटाभट्टा नजिकैको कुलो छेउमा रगत पक्ष भई अचेत अवस्थामा फेला परेको थियो । उपचारको लागि भक्तपुर अस्पतालमा लगिएकोमा थप उपचारको लागि वीर अस्पतालमा रिफर गर्‍यो । सोही दिन योगीको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

गणेश इँटाभट्टामा पानी पालेको काम गर्ने कान्छाराम र बहादुर तामाङ सोही इँटाभट्टाकै बा १ ख ५०९५ नम्बरको मिनीटाटा चालक थिए । प्रहरी वृत्त जगातीका अनुसन्धान अधिकृत सुन्दर चौलागाईंका अनुसार योगी, कान्छाराम, बहादुर तामाङ र सोही इँटाभट्टाका बा १ ख ७०७६ नम्बरको गाडीका सहचालक देवेन्द्र भन्ने देव थापा बीच मादक पदार्थ सेवन गरी सामान्य भनाभन भएको पाइएको छ । सामान्य भनाभनकै क्रममा मृतक योगीलाई कान्छाराम, बहादुर तामाङ र देव थापाले कुटपिट गरी फरार भएको खुलेको छ ।

घटनास्थलबाट प्रहरीले ८ इन्च लम्बाइ भएको चक्कु १ थान र १२५ फिट ८ इन्च लम्बाइ ४ दशमलब ९ इन्च गोलाइ भएको बाँसको लौरो फुटेको र रगत लागेको अवस्थामा बरामद गरेको थियो । योगीको शव परिक्षण रिपोर्टमा ‘छातीमा गहिरो चोट’ उल्लेख छ । योगीको मृत्युपछि मृतकका भान्जा ईश्वर बस्नेतले २०६२ फागुन १ गते प्रहरीमा जाहेरी दिएको थियो ।

१७ वर्षसम्म मामा (योगी) को हत्यारा पत्ता नलागेपछि बस्नेतले पुनः २०७९ पुस २९ मा कर्तव्य ज्यानमा मुद्दामा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा योगीको हत्या आरोपितलाई भक्तपुर जिल्ला अदालतबाट अनुमति लिई वृत्त जगाती प्रमुख डीएसपी राजकुमार श्रेष्ठको टोलीले २०७९ माघ १३ (शुक्रबार) पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?