युवा लक्षित कार्यक्रम छरपस्ट हुँदा समस्या

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा लक्षित कार्यक्रम छरपस्ट हुँदा समस्या आएको बताएका छन् ।

युवा लक्षित कार्यक्रम छरपस्ट हुँदा समस्या

‘युवाको सोचलाई परिवर्तन गर्ने पक्षमा छौं,’ मन्त्री गहतराजले भने, ‘तर मन्त्रालयमै १४ वटा कोषमा अलि अलि पैसा छरिएका छन् । युवा परिषद्ले जे काम गर्छ, मन्त्रालयका शाखाले त्यही गर्छ । हरेक मन्त्रालयमा युवा लक्षित कार्यक्रमहरू छन् । तर उपलब्धि शून्य छ ।’

राष्ट्रिय युवा परिषद् र शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको ‘युथ भिजन, १० वर्षे रणनीति योजना तथा राष्ट्रिय युवा नीति’ विषयक गोष्ठीमा उक्त विचार व्यक्त गरेका हुन् । युवा नीति तथा ऐनले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानेको छ । तथ्यांकले कुल जनसंख्याको ४० दशमलब ३५ प्रतिशत युवा छन् । सरकारले लक्षित वर्गलाई एकमुष्ठ लाभान्वित हुने कार्यक्रम नगर्दा समस्या आएको जनाइएको छ ।

‘हामीसँग पाखुरी छ तर त्यसलाई पहिचान गरेर सदुपयोग गर्न सकेका छैनौं,’ देश जनसांख्यिक लाभमा रहेको उल्लेख गर्दै मन्त्री गहतराजको भनाइ थियो, ‘युवाहरूको व्यवस्थापनमा चुनौती छ । हरेक दिन युवाहरू विदेश जान बाध्य छन्, जुन देशको लागि भयानक चुनौती हो ।’

वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले यो वर्षबाट रोजगारी निश्चित हुनेगरी युवा लक्षित तालिम दिने कार्यक्रम अघि बढाएको बताए । ‘अब वागमती प्रदेश सरकारले रोजगारीलाई प्राथमिकता दिएर तालिम सञ्चालन गर्नेछ,’ उनले भने, ‘त्यसका निम्ति संघीय सरकार र स्थानीय तहसँग सहकार्य गर्नेछ ।’

युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले समयानुकुल राष्ट्रिय युवा ऐन तथा नीति परिमार्जन गरी र कार्यान्वयनका निम्ति तीनै तहका सरकारसँग पहल गर्ने बताए । ‘परिषद्ले युवा नीति परिमार्जनसँगै विश्वविद्यालयदेखि दुर्गम गाउँसम्म लागू गर्न तीनै तहको सरकारसँग पहल गर्नेछौं,’ उनले भने, ‘युथ भिजन २०२५ र दस वर्षे रणनीतिलाई कार्यान्वयमा जोड दिएका छौं ।’

गोष्ठीमा सहभागी युवा सञ्जय पन्थीले सूचना प्रविधि क्षेत्रमा युवाको आकर्षण बढेकाले कलेजमा आईटी अध्ययन कोटा थप्नु पर्ने बताए । ‘युवालाई उद्यमका लागि विना धितो ऋण दिने भनेपनि लागू भएको छैन,’ समसामयिक विषयलाई पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समेटिनु पर्ने उल्लेख गर्दै पन्थीले भने, ‘सीटीईभीटीलाई तालिमका लागि व्यवस्थापन जरुरी छ । हरेक पालिकामा आविष्कार केन्द्रहरू विस्तार हुनुपर्छ ।’ गोष्ठीमा विभिन्न विद्यार्थी संगठन, राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?