काठमाडौँ — साइकल तथा पैदलमैत्री संरचनाको माग गर्दै कीर्तिपुर साइकल घोषणापत्र २०७९ सार्वजनिक भएको छ । नेपाल साइकल सोसाइटी, दिगो विकास इन्टिच्युट, पब्लिक डिस्कोर्स फाउण्डेसन, टुर दे लुम्बिनी, रोड सेफ्टी सोसाइटी, प्याङ्क बाइक, लाइन्स क्लब अफ काठमाडौंले साइकल सिटीको मुठ्ठीदान तथा श्रमदानमा प्राज्ञिक व्यक्तित्व तथा अभियन्ताबाट प्राप्त सुझावका आधारमा घोषणापत्र सार्वजनिक गरेको हो ।
साइकल तथा पैदलमैत्री शहरी विकासका विषय राजनीतिक मुद्दा भएको र आसन्न निर्वाचनमा राजनैतिक दलहरुले आफ्नो मुख्य एजेन्डाको रुपमा साइकल राख्नुपर्ने अभियन्ताहरुको माग छ । विभिन्न संघसंस्था तथा अभियन्ताहरुले वैशाख ३ गते (शुक्रबार) त्रिभुवन विश्वद्यिालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा साइकल तथा पैदलमैत्री शहरी विकासमा राजनीतिक प्रतिबद्धता घोषणापत्र निर्माण कार्यशालाको आयोजना गरेको थियो । नेपाल साइकल सोसाइटी, दिगो विकास इन्स्टिच्युट, पब्लिक डिस्कोर्स फाउण्डेसन, टुर दे लुम्बिनी, रोड सेफ्टी सोसाइटी, प्याङ्क बाइक, लाइन्स क्लव अफ काठमाडौं साइकल सिटीको मुठ्ठीदान तथा श्रमदानबाट कार्यक्रमको आयोजना गरेको नेपाल साइकल सोसाइटीका अध्यक्ष अध्यक्ष रत्नराम श्रेष्ठले बताए ।
घोषणापत्रमा प्रत्येक स्थानीय तहमा साइकल तथा पैदलमैत्री संस्कृति निर्माण लक्षित विशेष बोर्डसहित छुट्टै योजना शाखाको स्थापना गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा साइकल, सार्वजनिक यातायात तथा पैदालमैत्री दीगो शहरी विकास रणनीतिक गुरुयोजना निर्माण गर्नुपर्ने, अवस्था अनुरुप महिला, बालबालिका, जेष्ठनागरिक तथा अपाङ्गतामैत्री मौलिक खुला क्षेत्र, साइकल पार्क, साइकल संरचना विकासका आवश्यक कार्यक्रम तर्जुमा गर्नुपर्ने माग गरेको छ । त्यस्तै, हरेक वर्ष गुरुयोजनाले औल्याएअनुरुप साइकल तथा पैदलमैत्री कार्यक्रम सञ्चालनका लागि वार्षिक बजेटको व्यवस्था गरियोस् भन्ने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा साइकल तथा पैदलमैत्री संस्कृतिले सुसज्जित समाज निर्माणको स्पष्ट कार्ययोजना विहीन उम्मेदवारलाई भोट नदिने, पश्चिमा विकाश शैलीको अन्धानुकरण गर्दै सीमित पूँजीपति पोस्ने विकासको खाका बोकेर मौलिक सम्पदामैत्री गाउँशहरमा भोट माग्न आउने उम्मेदवारलाई बहिस्कार गर्ने अभियन्ताको प्रतिबद्धता छ । हरेक उम्मेदवारसँग साइकल तथा पैदलमैत्री दीगो विकासको सुनिश्चितता गर्ने पालिका विकासको स्पष्ट रणनीति तथा कार्ययोजनाको माग गर्नेछौं ।
हालको आर्थिक संकट अत्यधिक मात्रामा अनावश्यक पेट्रोलियम पदार्थको दोहन गर्ने सवारी साधन केन्द्रित शहरी विकासको दुष्परिणाम भएको भन्दै अभियन्ताहरुले साइकल घोषणापत्र तयार गरेको हो । विकास भनेको सडक विस्तार देख्ने दृष्टिकोणका कारण अत्यधिक रुपमा इन्धनबाट चल्ने निजी सवारी साधनको प्रयोगले साइकल, पैदल, सार्वजनिक यातायातजस्ता शहरी सभ्यताको मुख्य आधार ध्वस्त बनाएको अभियन्ता तारालाल श्रेष्ठ बताउँछन् ।
