असोज १६ देखि गोकर्णेश्‍वरका विद्यालय खुल्ने

वैशाख, जेठ र असारको शुल्क लिन नपाउने
विद्यार्थीहरुलाई चरणबद्ध तरिकामा, समूहमा, सिफ्टमा वा अन्य कुनै वैकल्पिक विधि प्रक्रियाद्वारा भौतिक रुपमै विद्यालयमा प्रत्यक्ष पठनपाठनको आवश्यक व्यवस्था मिलाउनुपर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका निजी तथा सामुदायिक विद्यालय असोज १६ देखि सञ्चालन गर्ने जनाएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

असोज १६ देखि गोकर्णेश्‍वरका विद्यालय खुल्ने

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई अनिवार्य विद्यालयमै उपस्थित गराई कक्षा सञ्चालन गराउन निर्देशन दिएको बताए । ‘५ देखि १० जनाको समूह बनाएर कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘पहिले जसरी १०–५ को कक्षा भने सञ्चालन गर्न पाइने छैन ।’

प्राथमिक तहका विद्यार्थीहरुलाई सकभर नबोलाई वैकल्पिक माध्यमबाट नै कक्षा सञ्चालन गर्ने उनले बताए । अनलाइन शिक्षा प्रभावकारी नभएकाले भौतिक रुपमा विद्यार्थीहरुलाई बोलाई विद्यालय सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

विद्यार्थीहरुलाई चरणबद्ध तरिकामा, समूहमा, सिफ्टमा वा अन्य कुनै वैकल्पिक विधि प्रक्रियाद्वारा भौतिक रुपमै विद्यालयमा प्रत्यक्ष पठनपाठनको आवश्यक व्यवस्था मिलाउनुपर्ने नगरपालिकाले जनाएको छ । हरेक विद्यालयका प्राध्यापकलाई बोलाई नगरपालिकाले कसरी कक्षा सञ्चालन गर्ने भनेर प्रशिक्षण दिइसकेको उनले बताए । नगरभित्रका संस्थागत विद्यालयले वैशाख, जेठ र असारको शुल्क लिन नपाउने निर्णय गरेको नगरपालिकले जनाएको छ ।

‘गत वर्ष नगरपालिकाले निर्धारण गरेको शुल्क साउन महिनादेखि लिन पाउनेछ,’ आचार्यले भने, ‘त्यस्तै विद्यालयले यातायात, पुस्तकालय, खाजा, प्रयोगशाला भनेर छुट्टै शुल्क लिन पाइने छैन ।’

नगरभित्रका विद्यालयले विद्यार्थीहरुलाई खाजा खुवाउने तथा विद्यालयकै सवारी साधनले ल्याउने/पुर्‍याउने कामसमेत गर्न नपाउने उनले बताए ।

प्रकाशित : आश्विन १२, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?